नक्कली शरणार्थी प्रकरणमा छुटेका तुलाधर ललिता निवासमा पक्राउ परे

नक्कली भुटानी शरणार्थी प्रकरणमा १५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका केशव तुलाधरलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको छ । ललिता निवास प्रकरणमा जोडिएपछि प्रहरीले सीआईबीलाई जिम्मा लगाएको हो ।

नक्कली शरणार्थी प्रकरणका ३० जना अभियुक्तमध्ये उनी पनि एक थिए । उनलाई पक्राउ गरिएपछि जिल्ला अदलत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले १५ लाख धरौटी मागेको थियो । उक्त धरौटी रकम बुझाएर छुटेका तुलाधर बालुवाटारको ललिता निवास प्रकरणमा फेरि हिरासत पुगेका हुन् ।

उनीमाथि सीआईबीले ललिता निवासको २ रोपनी सरकारी जग्गा आफ्नो नाममा पारेको अभियोग लगाएको छ ।

यसअघि नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १९ मध्ये १७ जना पुर्पक्षका लागि थुनामा छन् । ललितपुरकी लक्ष्मी महर्जनसहित २ जना धरौटीमा छुटेका थिए । यससँगै ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या पनि १९ पुगेको छ ।

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित १८ जनालाई आइतबार नै थप पाँच दिन हिरासतमा राख्ने अनुमति जिल्ला अदालत काठमाडौंले दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार