रास्वपा सांसद सुमना श्रेष्ठको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले संसद्मा दिएको अभिव्यत्तिप्रति नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आपत्ति जनाएका छन् । सांसद श्रेष्ठले संसदीय मान्यताविपरितको भाषा संसद्मा प्रयोग भएको भन्दै त्यसलाई रेकर्डबाट हटाउन उनले माग गरेका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा शुरुमै उठेर समय लिदै कांग्रेस सांसद बजगाईले सुमनाले गुण्डा शैलीमा विधेयक पारित गर्न खोजेको भनी दिएको अभिव्यक्तिमाथि आपत्ति जनाएका हुन् । ‘सुमना श्रेष्ठज्यूले बहुमतको आधारमा पास गर्ने भए, गुण्डाशैलीमा पास गर्ने भए भन्ने अभिव्यक्ति दिनुभएका कारणले संसदीय मान्यताविपरितको भाषा भएको कारणले अविलम्ब डिलिट हुनुपर्छ भन्ने मेरो माग छ,’ सांसद बजगाईंले भने ।

यसअघि आजै बसेको बैठकमा सांसद श्रेष्ठले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० ले हिंसालाई माफी दिने गरी आएको भन्दै आपत्ति जनाएकी थिइन् । उनले सत्तापक्षले बहुमतको नाममा अपराधी र गुण्डाहरुलाई संरक्षण गर्ने विधेयक ल्याएको आरोप समेत लगाएकी थिइन् ।

सांसद बजगाईंले आपत्ति जनाएपछि सभामुख देवराज घिमिरले अभिव्यक्ति हेरेर निर्णय लिने बताएका छ्न ।

‘मान्य सदस्यले उठाउनुभएको कुराप्रति ध्यानाकर्षण भएको छ । मान्य सदस्यको अभिव्यक्ति के आएको छ त्यसलाई हेरेर हामी निर्णय गर्नेछौं,’ सभामुख घिमिरेले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार