मेस्सी मियामीमा अनुबन्धित

अर्जेन्टिनाका विश्व चर्चित फुटबल स्टार लियोनल मेस्सी अमेरिकी सकर क्लब इन्टर मियामीमा औपचारिक रुपमा अनुबन्धित भएका छन् ।

पछिल्लो दुई वर्ष फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बिताएका मेस्सीले गत सिजनको अन्त्यसँगै पीएसजी छाड्ने घोषणा गरेका थिए । पीएसजी छाड्ने घोषण गरेसँगै मेस्सी आफुले दुई दशकभन्दा बढी समय विताएको बार्सिलोना फर्कने चर्चा पनि उत्तिकै चलेको थियो ।

मेस्सी साउदी अरब जाने चर्चाले पनि पछिल्लो समय विश्व फुटबलमा चर्चा बटुलेको थियो । तर फरक हल्ला र चर्चाबीच मेस्सीले अमेरिकी क्लब मियामी रोजेका हुन् । मेस्सीले एमएलएस क्लब मियामीसँग सन् २०२५ सम्म रहने सम्झौता गरेका छन् ।

‘‘म इन्टर मियामीबाट अमेरिकामा करियरको अर्को कदम चाल्नका लागि उत्साहित भएको छु । यो मेरालागि राम्रो अवसर हो । हामी सबै मिलेर राम्रो परियोजना निर्माण गर्नेछौं । मियामीमा लक्ष्य प्राप्तिका लागि सबै मिलेर काम गर्नेछौं । म यहाँ आफ्नो नयाँ घर बनाउन लागिपरेको छु,’’ सम्झौतापछि मेस्सीले भनेका छन् ।

अर्जेन्टिनालाई सन् २०२२ को कतार विश्वकप उपाधि जिताएपछि मेस्सीको चर्चा विश्व फुटबलमा थप चुलिएको थियो । मियामीका मालिक डेभिड बेकह्यामले मेस्सी अनुबन्धनपछि आफ्नो सपना पूरा भएको बताएका छन् ।

३६ वर्षको ढल्कँदो उमेरमा मेस्सीले पहिलो पटक युरोप बाहिरको क्लब रोजेका हुन् । सर्वाधिक सात पटकका बालोन डी’ओर विजेता मेस्सी जुलाई २१ मा हुने लिग कपको उद्घाटन खेलबाट मियामीको जर्सीमा देखिन्छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार