बैंकहरुले तोके नयाँ ब्याजदर, अधिकांशले घटाए निक्षेपको ब्याज

काठमाडौं। नेपाल बैंकर्स सङ्घको पहलमा लामो समयदेखि कायम बैंक ब्याज सम्बन्धी भद्र सहमति अन्त्य गर्ने निर्णय सँगै नेपालका वाणिज्य बैंकहरुले आ-आफ्नै ढङ्गले ब्याजदर तोकेका छन् । ब्याजदरमा कार्टेलिङ गरेको भन्ने आरोप खेपिरहेका बैंकहरुले घोषणा गरेका नयाँ ब्याजदर भने निकै रोचक देखिएका छन् ।

अधिक निक्षेपको भारमा परेका सबै बैंकहरुले ब्याजदर घटाउँछन् भन्ने आम अनुमान विपरीत साउन एक गतेबाट केही बैंकले भने ब्याजदर बढाउने भएका छन् । आफ्नो तजबिजीमा ब्याजदर तोक्ने अधिकार पाएका बैंकको साउन १ गतेदेखि फरक फरक देखिने भएको छ ।

हाल सञ्चालनमा रहेका मध्ये कतिपय बैंकले भने आफ्नो ब्याजदर स्थिर नै राखेका छन् भने आधाभन्दा बढी बैंकले घटाएका छन् । यस क्रममा अप्रत्याशित रुपमा केही बैंकले भने ब्याजदर बढाएका छन् ।

यसरी ब्याजदर बढाउनेमा नबिल बैंक, प्राइम कमर्सियल, एनएमबि र कुमारी बैंक रहेका छन् । नबिल बैंकले यसअघी कायम रहेको मुद्दती निक्षेपको ब्याज दर समान ९.९९ बाट १०.४९ प्रतिशत पुर्‍याएको छ । नेपाल राष्ट्र बैंकले १० प्रतिशत सम्म ब्याज घटबढ गर्न सक्ने अधिकार वाणिज्य बैंकहरुलाई दिएको छ ।

त्यसैगरी,  प्राइम कमर्शियल बैंकले मुद्दतीमा बैंकले १०.९३ प्रतिशत सम्म ब्याज दिने घोषणा गरेको छ । एनएमबि बैंकले भने मुद्दतीमा फरक फरक अवधिको लागि फरक फरक ब्याजदर तोकेको छ । यो बैंकले कम्तीमा ९ देखि अधिकतम १०.९८ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ ।

त्यसो त नबिल बैंकले पनि अवधि हेरेर मुद्दतीको ब्याज फरक फरक राखेको छ । बचतमा भने सो बैंकले ५.९० देखि ७.९० प्रतिशतसम्म ब्याज दिने छ । प्राइमले बचतको ५.९३ देखि ७.९३ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ ।

एनएमबि बैंकले बचतमा ५.९८ देखी ७.९८ प्रतिशतसम्म ब्याज दिने भन्दै आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेको छ । यसरी हेर्दा बचतमा सर्वाधिक धेरै ब्याज दिने एनएमबि बैंक बनेको छ । उता कुमारी बैंकले भने मुद्दती निक्षेपमा अधिकतम १०.०१ प्रतिशत र  न्यूनतम ९.९९ प्रतिशत ब्याज दिने जनाएको छ । यो बैंकले बचतमा ५.४ देखि ७.४ प्रतिशत ब्याज दिने उल्लेख गरेको छ ।

ब्याजदर सार्वजनिक गरेका १८ बैंकमध्ये १० वटा बैंकले घटाएका छन् । यसरी घटाउनेहरूमा नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, स्ट्यान्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, प्रभु बैंक, नेपाल एसबीआइ बैंक, माछापुच्छ्रे बैंक रहेका छन् ।

आगामी महिनाको लागि ब्याजदर परिवर्तन नगरी स्थिर राख्ने बैंकहरूमा हिमालयन बैंक, ग्लोबल आइएमइ बैंक, लक्ष्मी सनराइज बैंक र सिटिजन्स बैंक रहेका छन् । ब्याजदर घटाएका मध्ये राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक र एसबीआइ बैंकले मुद्दती निक्षेपमा क्रमश ८.९९ प्रतिशत, ८.९९ प्रतिशत र ९.१ प्रतिशत ब्याज दिने भएका छन् ।

त्यसैगरी, माछापुच्छ्रे र एभरेष्ट बैंकले समान ९ प्रतिशत कायम गर्दा स्ट्यान्ड चार्टर्डले भने ९.९५ प्रतिशत तोकेको छ । सिद्धार्थ बैंकले ९.५ प्रतिशत कायम गर्दा सानिमा बैंकले ९.५२ प्रतिशत ब्याजदिने जनाएको छ । नेपाल बैंक र  कृषि विकास बैंकले भने क्रमश ८.९९ प्रतिशत र ९.५१ प्रतिशतमा ब्याजदर झारेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार