बर्खामा ढुवानी गर्न घोडा खच्चडकै भर

वर्षाका कारण गाडी गुड्ने सडकमा ठूला–ठूला ढुङ्गा मुठासहितको पहिरो थुप्रिएको छ । पहिराले सडक छेकिँदा पैदलयात्रा पनि सहज छैन । बागलुङको बजार क्षेत्रमा बर्खामा पनि सडक सञ्चालन भए पनि ग्रामीण सडक भने पूर्णरूपमा अवरुद्ध छन् । 

सडक अवरुद्ध हुँदा ग्रामीण क्षेत्रका हजारौँ नागरिक प्रभावित बनेका छन् । गाउँ–गाउँसम्म सडक पुगेपछि स्थानीय घोडा खच्चड पाल्न छोडे । गाडीले नै दैलो अगाडि आवश्यक सामान पुर्याइदिएपछि घोडा खच्चडको आवश्यकता पनि किन होस् र ? तर बर्खाको समय सामान ढुवानी गर्ने प्रमुख साधान नै घोडा खच्चड बनेका छन् ।

डेढ दशक अगाडिसम्म अधिकांश ग्रामीण क्षेत्रमा लामबद्धरूपमा खच्चडले भारी बोकेको देखिन्थ्यो । टाढा–टाढाबाट सामान ढुवानी गर्नका लागि निकै सहयोगी सावित भएका खच्चड हिउँदको समय कामविहीन हुन्छन् । स्थानीयले कामविहीन खच्चडलाई पाल्न पनि चाहँदैनन् । तर यतिबेला बागलुङ ढोरपाटन, भल्कोटको माथिल्लो क्षेत्र, बोबाङ, निसेलढोरलगायतका ठाउँमा खच्चडले सामान बोकेको देखिन्छन् । हिउँदको समयमा गुमनामजस्तै हुने घोडा खच्चडलाई स्थानीयले बर्खामा बजारदेखि गाउँसम्म सामान ढुवानीका लागि प्रयोग गर्न थालेका छन् ।

केही दिनदेखिको बर्खाले निसीखोला, तमानखोला र ढोरपाटनका अधिकांश सडक अवरुद्ध भएपछि ग्रामीण क्षेत्रका व्यापारीले घोडा खच्चडमार्फत सामान ओसारपसार गरिरहेका छन् । हिउँदभरि घाँस दाना खुवाएर पालेका घोडा खच्चडले बर्खामा काम पाउन थालेपछि खच्चड व्यवसायी पनि खुसी भएका छन् ।

चौतीस वर्ष खच्चड व्यवसाय गरेका स्थानीय तुलबहादुर विकले १२ वर्ष अगाडिसम्म सामान ढुवानी गर्ने गर्थे । सत्रवटा खच्चडमार्फत सामान ढुवानी गर्दा वर्षमा पाँच लाख बढी आम्दानी गर्ने उनले अहिले २० हजार कमाउन मुस्किल पर्ने बताए ।

गाउँको टोलटोलमै सडक पुगेपछि घोडा खच्चड कामविहीन बनेको विकले बताए । हिउँदभर दान, घाँस पानी खुवाएर पाल्न गाह्रो भएको भन्दै आठवटा खच्चड सित्तैमा बेचेको सुनाए। पहिले एउटा खच्चडको ५० हजारभन्दा बढी पर्ने गरेको स्मरणसमेत विकले गरे । अहिले मलबाहेक घोडा खच्चडबाट फाइदा नभएको उनको भनाइ छ ।

गाडीको पहुँच नहुँदा यात्रा गर्न, खाद्यान्न सामान, फेन्सी सामान तथा अन्य सामग्रीको ढुवानीका निम्ति घोडा, खच्चडको प्रयोग गर्ने गरेको खच्चड व्यवसायी मङ्गले परियारले बताउँछन् । उनले अहिले खच्चडको काम नहुँदा पाल्नसमेत गाह्रो हुन थालेको गुनासो गरे । पहिले घोडा खच्चड हुने मान्छे निकै धनी मानिने गरेको जनाउँदै अहिले गरिबले मात्रै खच्चड पाल्ने गरेको उनको भनाइ छ ।

उनले भने, ‘पहिले यसको तीन–चार ठाउँ पसल हुन्थ्यो, उसैको घोडा खच्चड हुन्थे, गरिबले मात्रै खच्चड पाल्छ, उतिबेला गरिबले घोडा खच्चड किन्न सक्दैनथे, साहु महाजनले मात्रैको हुन्थ्यो, अहिले त फ्रिमा कसैलाई लैजाभन्दा पनि कसैले लग्दैनन्, न काटेर मासु खान मिल्ने, न पालेर फाइदा, मार्न भएन, जसोतसो पाल्नुको विकल्प छैन, बर्खामा दुई दिन भारी बोकेर के आम्दानी हुन्छ ?, वर्षभरि नभए पनि छ महिना काम गर्न पाउने भए पनि धेरै सजिलो हुने थियो, काम सबै गाडीले गर्छन्, के को खच्चडलाई काम दिउन् ।’

बर्खा लागेपछि तमानखोला र निसीखोलाको अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएका ठाउँमा व्यापारीले गोडा खच्चडमार्फत सामान ढुवानी गर्ने गर्छन् । बर्खामा ग्रामीण सडक खुलाउन नसकिने निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए ।

शाखा सडकका कारण लोकमार्गसमेत बेलाबेलामा अवरुद्ध हुने गरेको उनले बताए । मुख्य सडकलाई जसोतसो अवरुद्ध हुँदा बित्तिकै खुलाए पनि शाखा सडक असोजपछि मात्रै खुलाउने उनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार