संसदीय दलको नेता परिवर्तनमा प्रयास निरन्तर रहन्छ: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीका साथीहरूको साथ र संख्या पुगेमा संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास हुने स्पष्ट पारे। उनले पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्ने स्थान दिएको बताए । पार्टीभित्र यसको पटकपटक प्रयोग भएको र नेता परिवर्तन समेत भएको उदाहरण रहेको विचार व्यक्त गरे ।

देशको आवश्यकताअनुसार आजको दिनमा आफू दलको नेता भएमा पार्टीलाई राम्रोसँग सञ्चालन गर्ने महामन्त्री थापाको भनाइ थियो ।

कोशी सरकार निर्माणका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई पार्टीले स्वीकार गर्ने उनले बताए । केन्द्रीय समितिको बैठक नबसेको कारण कोशी सरकार गठनका सम्बन्धमा खुल्ला छलफल गर्न नसकिएको उल्लेख गर्दै उनले यसबाट राष्ट्रिय राजनीतिका थुप्रै विषय प्रभावित पारेको धारणा राखे ।

महामन्त्री थापाले केन्द्रीय समितिको बैठकले नीति महाधिवेशनको मिति तय गर्ने‍ र नीति अधिवेशनले निर्वाचनमा राजनीतिक दलहरूबीच गठबन्धन गर्ने राजनीतिक संस्कृतिको अन्त्य गर्ने नयाँ बाटो खोज्ने बताए । वर्तमान गठबन्धन सरकार परिवर्तन नहुने जिकिर गर्दै उनले सरकारले जनताप्रति दत्तचित्त भई कार्य गर्नुपर्नेमा जोड दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार