मर्जरपछि यस्तो बन्यो लक्ष्मी सनराइज बैंक

लक्ष्मी र सनराइज बैंक लिमिटेडले असार २९ गते शुक्रवारबाट एकीकृत कारोबार सुरु गरेका छन् । दुई बैंकले मर्जरपछि ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।

लक्ष्मी र सनराइज बैंक मर्ज भई एकीकृत कारोबार पश्चात अध्यक्षमा रमण नेपाल चयन भएका छन । त्यस्तै लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अजय बहादुर शाह नियुक्त भएका छन् ।

मर्जरपछि पहिलो साधारणसभासम्मको लागि लक्ष्मी बैंकबाट ४ जना र सनराइज बैंकबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्ने सहमति भएको छ । लक्ष्मी बैंकबाट हालका अध्यक्ष नेपाल, सञ्चालकहरु डा.मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बनेका हुन् । यस्तै, सनराइज बैंकबाट बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बनेका छन् । लक्ष्मी बैंक र सनराइज बैंक १ः१ को स्वाप रेसियोमा मर्ज भएका हुन् ।

लक्ष्मी सनराइज बैंकको चुुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी पुगेको छ । यस्तै, जगेडा कोष १४ अर्ब ११ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । यस्तै, बैंकको निक्षेप २ खर्ब ८७ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ भने शाखा सञ्जाल २८४ वटा पुगेका छन् । त्यस्तै एटिएमको संख्या ३ सय ४१ वटा र कर्मचारीहरुको संख्या ३ हजार १ सय ७० रहने बैंकले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकले असार २२ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । बैंकको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार