नेपाल टेलिकमले ल्यायो समर अफर, ५०० रुपैयाँमा २० जीबी डाटा

काठमाडौं । नेपाल टेलिकमले समर अफर ल्याएको छ। टेलिकमका अनुसार असार २९ गते अर्थात आज शुक्रबारदेखि लागु हुनेगरी समर अफर ल्याएको हो ।

यस अन्तर्गत सेवाग्राहीको रुची र चाहना बमोजिम केही नयाँ प्याकेजसहितका अफरहरु उपलब्ध गराइएको छ । त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजी लगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजहरुलाई थप आकर्षक बनाइएको छ ।

टेलिकमका अनुसार समर अफर अन्तर्गत अल टाइम डाटा प्याक अन्तर्गत पाँच सय रुपैंयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटा प्याक उपलब्ध भइरहेकोमा अब २० जीबी र ८०० मा २५ जीबी उपलब्ध भइरहेकोमा अब ३५ जीबी डाटा प्याक उपलब्ध हुनेछ ।

प्रिपेड सस्तो कम्बो प्याक अन्तर्गत सस्तो कम्बो २९९ प्याकमा १५० मिनेट अन नेट भ्वाइस कल, २ जीबी डाटा र २० एसएमएसको सुविधा उपलब्ध भइरहेकोमा अब सोही मूल्यमा २ जीबीको सट्टा ४ जीबी डाटा उपलब्ध हुनेछ ।

सजिलो अनलिमिटेड ७९९ प्याक अन्तर्गत सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल उपलब्ध हुनेछ । मेशिन टु मेशिन (एम २ एम) सिमकार्डको प्रयोगलाई प्राथमिकतामा राखी यसका लागि विभिन्न प्याकेजको व्यवस्था गरिएको छ । यसमा ३० दिनसम्म प्रयोग गर्न सकिने विभिन्न दरको प्याकेज उपलब्ध हुने जनाइएको छ ।

कर्पोरेट वर्गमा लोकप्रिय सियुजी प्याक लाई थप आकर्षक बनाइएको छ । साथै, अनलिमिटेड डाटा प्याकमा प्रदान गरिंदै आएको फेयर युसेज पोलिसी (एफयुपी) बमोजिम तोकिएको परिमाण उपभोग पछि लागु हुने थ्रोटलिङ स्पिड लिमिट बढाइएको टेलिकमको भनाई छ ।

समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५*१#  डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने टेलिकमले जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार