हामी सरकारमा जाने रेसमा छैनौं : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु तत्काल सरकारमा जाने सम्भावना नरहेको बताएका छन् । आज (बिहीबार) बिहान संसदीय मामिला पत्रकार समाजको टोलीसँग पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा कुराकानी गर्दै सभापति लामिछानेले सरकारमा सहभागी हुनेबारे संवाद नभएको स्पष्ट पारे ।

‘उपनिर्वाचनपछि आउनु होस् भन्नु भएको थियो, अहिले कुराकानी भएको छैन । यो रेस र गेममा पनि छैनौँ,’ उनले थपे, ‘तर, हामी स्थायित्वको पक्षमा छौँ ।’ सरकारमा भन्दा पनि संगठन विस्तारमा जोड दिएको उनले बताए । मिटरब्याजसम्बन्धी अध्यादेशमा सत्तारुढ दलभित्रैबाट विपक्षीमा उभिन सक्ने आशंका उनले औँल्याए ।

‘मिटरब्याजसम्बन्धी अध्यादेशमा सत्तामा भएका दल पनि विपक्षीमा उभिन सक्छन् । विधेयक अन्तिम समयमा ल्याउनुमा आशंका छ,’ उनले भने । मामिलाको नयाँ नेतृत्वलाई सभापति लामिछानेसहित रास्वपाका सांसदहरूले बधाई र कार्यकालको शुभकामना दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार