सडक व्यापारीलाई लछारपछार गर्ने ७ नगर प्रहरी जागिरबाट हटाइए, ५ जना निलम्बनमा

काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सडक व्यापारीलाई अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको छ ।

महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको छ भने स्थायी सेवामा रहेका ५ जनालाई निलम्बन गरिएको छ ।

उनले भने, ‘अमानवीय व्यवहार देखिएपछि हामीले यस अघि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेका छौँ । हामीले व्रिफिङ्मा अभद्र व्यवहार नगर्न भनेका छौँ । यसका साथै जनस्तरका आएका गुनासाहरूको अध्ययन गरेर गल्ती गर्ने नगर प्रहरीलाई कारबाही गर्ने गरेका छौँ ।’

उनले यसअघि ती कर्मचारीलाई विभागीय कारवाही गरेको तर जनस्तरबाट फेरि अमानवीय व्यवहारको गुनासो आएपछि पदबाट हटाइएको जानकारी दिए ।

यस प्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरण सम्बन्धी तालिम दिन थालिएको पाण्डेको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार