छोरी बलात्कारको कसुरमा ३३ वर्ष कैद फैसला

जिल्ला अदालत दैलेखले आफ्नै १७ वर्षीया छोरी बलात्कारको कसुरमा ५० वर्षका एक जनालाई ३३ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट सोमवार भएको उक्त फैसला भएको सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिए ।

०७९ चैत १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको थियो । उजुरीका आधारमा ती व्यक्तिलाई गिरफ्तारको काम पनि त्यही दिन भएको थियो । बालिकाको स्वास्थ्य परीक्षण चैत २१ गते नै भएको थियो ।

फैसलामा तीन लाख रुपैयाँ जरिवाना, ५० हजार रुपैयाँ पीडित बालिकालाई क्षतिपूर्ति र २८ सय रुपैयाँ पिडित राहत कोषमा पिडकबाट भराउनेसमेत उल्लेख गरिएको छ ।

बलात्कार गरेको पुष्टि भएपछि हाडनातामा २५ वर्ष र पिडितको उमेर अनुसार हुने बलात्कार सजाय ८ वर्षसमेत थपेर कसुरदारलाई ३३ वर्ष कैद गरिएको अदालतको फैसलामा उल्लेख छ ।

सोमबार भएको सजाय निर्धारण पेशीमा पीडितको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले बहस गरेका थिए ।

दैलेखमा गत चैतदेखि जेठसम्म ती महिना अवधिमा १५ देखि १७ वर्ष उमेरका छोरीलाई बाबुबाटै बलात्कृत भएका चार वटा मुद्दा प्रहरीमार्फत अदालत पुगेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार