प्रधानमन्त्रीलाई बाँस्कोटाको प्रश्‍न : तपाईंले तिरंगा झण्डा उठाउने कि चन्द्र-सूर्य झण्डा ?

काठमाडौँ- नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशको स्वाधीनताका लागि पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने आफूहरुको माग यथावत रहेको बताए । देशको स्वाधिनता र संसदको सार्वभौमिकताविरुद्ध आफ्नो अभिव्यक्तिबारे प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने उनको भनाइ छ ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले दिएको विवादास्पद अभिव्यक्तिमा आपत्ति जनाउँदै सांसद बाँस्कोटाले ‘तिरंगा झण्डा उठाउने कि चन्द्र सूर्यको झण्डा उठाउने र?’ भन्दै प्रतिनिधिसभाको बैठकमा प्रश्न गरेका छन् ।

उनले  भने- ‘तपाईंले तिरंगा झण्डा उठाउने हो कि चन्द्र सूर्य झण्डा उठाउने हो ? हाम्रो सार्वभौमसत्तामाथि आक्रमण हुँदा हामी चुप बस्दैनौं ।’

उनले प्रतिनिधिसभामा ५७ दिनपछि मिटरब्याज सम्बन्धी अध्यादेश ल्याएको तर त्यो अनुमोदन भएन भनेर एमालेमाथि दोष थोपर्न खोजेको भन्दै आपत्ति जनाएका थिए ।

‘हामीले अध्यादेश पारित होस् भनेर संशोधन पनि गरेनौं । तर तपाईंले स्वकीय सचिवालयको तर्फबाट विज्ञप्ति जारी गराउनुभयो,’ बाँस्कोटाले भने ।

गत बुधबारदेखि सदन अवरुद्ध गर्दै आएको एमालेले सोमबारबाट पछि हटेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार