इमर्जिङ टिम्स एसिया कपमा सहभागि हुने नेपाली टोलीकाे बिदाइ

काठमाडौँ- जुलाई १३ देखि श्रीलंकामा सुरु हुने इमर्जिङ टिम्स एसिया कपमा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टीमको बिदाइ गरिएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा खेलकुदमन्त्री डिग बहादुर लिम्बु लगायत क्यानका पदाधिकारीले नेपाली टोलीलाई बिदाइ गरेका हुन् । प्रतियोगिता १३ जुलाई देखी २३ जुलाई सम्म श्रीलंकामा हुनेछ । नेपाल समूह बी मा छ । नेपालको समूहमा युएई, पाकिस्तान ए र भारत ए छन्।

त्यस्तै समूह ए मा श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान छन् । बिदाइ कार्यक्रममा राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहितकुमार पौडेलले इमर्जिङ कपलाई निकै महत्वका साथ हेरेको भन्दै जीतको लक्ष्यका साथ खेल्ने बताए। उनले खेलाडीहरूलाई सरकारले आवश्यक सहयोग गर्नुपर्ने र फुटबलमा भएजस्तो खेलाडी पलायनलाई रोक्नुपर्नेमा जोड दिए।

त्यस्तै राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले पछिल्लो समय नेपाली टिमले धेरै अनुभव हासिल गरेको र इमर्जिङ कपमा राम्रो नजिता निकाल्ने बताए । नेपालले १४ जुलाईमा पहिलो खेल पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेलमा १७ जुलाईमा भारत ए को सामना गर्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ । २१ जुलाईमा प्रतियोगिताको सेमिफाइनल खेल रहेको छ । फाइनल २२ जुलाईमा हुने तय भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार