प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने एमालेको अडान कायमै : प्रमुख सचेतक गिरी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने आफ्नो पार्टीको अडान कायमै रहेको बताएको छ ।

एमालेका प्रमुख सचेतक पदम गिरीले प्रमुख तीन दलको बैठकले पनि निकास नदिएकाले प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने एमालेको अडान यथावत रहेको प्रस्ट्याएका हुन् । संघीय संसद् भवन परिसरमा आइतबार अपराह्न सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री प्रचण्डले मुलुकको स्वाभिमान, स्वाधिनता र सार्वभौमिकतालाई माटोमा मिलाउने गरी दिएको अभिव्यक्ति कुनै पनि हालत क्षम्य नहुने दोहोर्‍याए ।

‘प्रधानमन्त्रीले जुन खालको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनु भयो । त्यसले हाम्रो राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधिनतालाई उहाँले माटोमा मिलाउने काम गर्नु भएको छ । र, नेपाली जनतामा निहित सार्वभौमसत्तामाथि उहाँले प्रकारले चुनौति दिने काम पनि गर्नु भएको छ,’ उनले भने, ‘देशका एउटा बहालवाला प्रधानमन्त्रीले यो तहको अभिव्यक्ति दिने कुरा आफैंमा गम्भिर र आपत्तिजनक कुरा हो। यो निन्दनीय छ। यसलाई हामीले सामान्य रुपले लिन सक्दैनौं ।’

प्रमुख सचेतक गिरीले विकसित देशहरुमा त्यहाँका कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिले त्यस्तो अभिव्यक्ति दिएको भए तत्क्षण नै राजीनामा दिइसकेको हुने जिकिरसमेत गरे ।

प्रमुख सचेतक गिरीले सरकारले मिटरब्यााज पीडितहरुको समस्या सम्बोधन गराउनका लागि त्यससम्बन्धी विधेयक संसद्‌मा नल्याएको दाबीसमेत गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार