चितवनमा नियन्त्रणमा लिइएको बाघ पर्सा पठाइयो

भरतपुर- चितवन राष्ट्रिय निकुञ्जले मानव बस्ती पसेर जनतालाई त्रसित बनाउँदै आएको बाघलाई नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ ।

यहाँ रहेका खोर भरिएपछि पर्सा पठाइएको हो । पश्चिम चितवनको मेघौली क्षेत्रका जनतालाई त्रसित बनाएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले गत बुधबार नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज पठाइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार बस्ती नजिक आएर जनतालाई त्रसित बनाउने, घरपालुवा जनावरलाई आक्रमण गर्ने गरेको सो बाघलाई भरतपुर महानगरपालिका–२७ बाट नियन्त्रणमा लिइएको थियो ।

बाघलाई नियन्त्रणमा लिएपछि केही दिन निकुञ्जको मुख्यालय कसरामा राखिएको भए पनि यहाँ राख्ने खोरको अभावका कारण पर्सा पठाइएको उहाँले जानकारी दिए ।

उनले भने, “बाघ राख्नका लागि हामीसँग खोरको अभाव भयो, त्यसपछि खोरमा नै राख्नका लागि पर्सा राष्ट्रिय निकुञ्ज पठाएका छौँ ।” अन्दाजी १० वर्षको सो बाघलाई ‘डार्ट’ गरी नियन्त्रणमा लिइएको थियो ।

निकुञ्जमा बाघ राख्न बनाइएका खोर भरिएका छन् । मुख्यालय कसरामा रहेको खोरमा तीन र सौराहामा रहेको खोरमा दुई बाघ रहेका छन् । बाघ राख्नका लागि बनाइएको एउटा काठको खोर जीर्ण अवस्थामा छ । त्यसको मर्मत हुन सकेको छैन । यहाँका खोर विगत एक वर्षदेखि भरिएका छन् ।

घाइते, समस्याग्रस्त तथा मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा लिएर राख्ने गरिन्छ । घाइते बाघलाई उपचारपश्चात् उसको अवस्था हेरेर सेटेलाइट जडान गरी निकुञ्जमा छाड्ने गरिएको तिवारीले जानकारी दिए ।

गत आर्थिक वर्षमा एउटा बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्नका लागि बाँके राष्ट्रिय निकुञ्ज पठाइएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार