कोशी प्रदेशमा थप तीन मन्त्रीहरूले लिए शपथ, आचार्यलाई आर्थिक मामिला मन्त्रालय

कांग्रेसबाट एक र माओवादीबाट दुई थपिँदा समाजवादी रुष्ट

कोशी प्रदेशमा थप तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । माओवादी केन्द्रबाट जीवन आचार्य, राजेन्द्र कार्की र काङ्ग्रेसबाट रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनीहरू तीनै जनालाई मुख्यमन्त्री उद्धव थापाले आज मन्त्री नियुक्त गरेका थिए । आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । अरु भने विनाविभागीय छन् । यसअघि शुक्रबार नियुक्त भएका मन्त्रीहरू कमल प्रसाद जवेगु र प्रदीप सुनुवारले पनि मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।

नेकपा एकीकृत समाजवादी पार्टीले मुख्यमन्त्री थापाले गठबन्धन दलहरूबिच भएको पूर्व सहमति तोडेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको भन्दै आपत्ति जनाएको छ ।

गठबन्धन दलहरूबिच एक एक जना मात्रै मन्त्री बनाउने सहमति भए पनि त्यसलाई तोडेर मुख्यमन्त्रीले थप मन्त्री नियुक्त गरेका नेकपा एस संसदीय दलका नेता राजेन्द्रकुमार राईले बताए । दोस्रो चरणको सरकार विस्तारमा आफ्नो पार्टीबाट कोही पनि नपरेपछि एकीकृत समाजवादी रुष्ट बनेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार