प्रितम सिंह दिल्ली जानुभएको छैन, प्रधानमन्त्रीले झुटो बोल्नुभयो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय व्यवसायी प्रितम सिंह भारत नगई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसबारे झुटो बोलेको बताएका छन्। स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बिनाकारण प्रितम सिंहलाई मुछेको आरोप लगाए।

‘उहाँ(प्रधानमन्त्री)ले एउटा मित्रराष्ट्रले दिल्लीले हामीकहाँ कोही आएको भनेको छैन। प्रितम सिंहले पत्रकार सम्मेलन गरी गरी दिल्ली गएको छैन भन्नुहुन्छ। प्रितम सिंहलाई पनि उहाँले मुस्नुभयो,’ ओलीले भने, ‘प्रितम सिंह दिल्ली नै जानुभएको छैन, तर उहाँले जानुभएको छ भनेर झुट बोल्नुभयो।’

ओलीले आफ्नो भारत भ्रमणको बेलामा राष्ट्रको हितको बारेमा कुरा गरेको दाबी गरे। तर, प्रधानमन्त्री प्रचण्डले भने देशको हितको पक्षमा कुनै पनि कुरा उच्चारण नगरेको बताए।

ओलीले सत्तारुढ गठबन्धनले स्वार्थका लागि राष्ट्रको हितमाथि खेलबाड गरेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले बहुमत नभएका पार्टीहरु एक ठाँउ मिलेर स्वार्थ बाँड्दै राष्ट्रको हितमाथि खेलवाड गरेको आरोप लगाएका हुन् ।

ओलीले मुलुकमा संसद भएपनि प्रधानमन्त्री प्रचण्डले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाएको प्रमाण बोलेको र यस्ता धेरै प्रमाणहरु बाहिर आउन बाँकी रहेको जिकिर गरे ।

भारतले नेपालमा सरकार बनाउँछु भनेर नभनेको अवस्थामा नेपालका प्रधानमन्त्रीले नै नेपालको सार्वभौमसत्ता विपरीत राखेको अभिव्यक्ति साधारण विषय नभएको उनको भनाइ छ ।

त्यस्तै, उनले यसअघि नै मृत अवस्थामा पुगेको नागरिकता विधेयकलाई संविधान मिचेर राष्ट्रपतिले प्रमाणीकरण गरेको आरोप लगाए । गठजोडको अराजनीतिक भागबन्डा, स्वार्थहरुको कित्ताकाटको कारणले अहंकार पलाएर संविधान नमान्ने ठाउँमा गठबन्धन पुगिसकेको उनले बताए ।

त्यस्तै ओलीले ललिता निवास प्रकरणमा छानबिन गरी दोषीहरुलाई कारवाही गर्नुपर्ने स्पष्ट पारे । ललिता निवास प्रकरणको छानविनलाई निष्कर्षमा पु-याउनै नसक्ने भन्दै ओलीले सरकारले गरिरहेको छानबिन आफू हिरो बन्नका लागि गरिएको स्टन्टबाजीमात्र भएको तर्क गरे ।

ओलीले भारतीय रअ प्रमुखलाई देशको हितको पक्षमा कुरा गर्न आफूले भेटेको भन्दै प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा भारतीय रअ प्रमुखलाई घरमै पुगेर लुकेर भेट गरेको उल्लेख गरे ।

ओलीले कोशी प्रदेशमा मुख्यमन्त्री पदमा नियुक्त गर्दा सभामुखले गठबन्धनको आदेशअनुसार संविधान मिच्ने काम गरेको जिकिर गरे । उनले मुलुकका सबै अंगलाई सरकारले त्रासमा राखेको आरोप लगाए । उनले कोशी प्रदेशमा एमाले नेतामाथि भइरहेको आक्रमणमा सरकारको संलग्नता रहेको समेत बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार