नीति तथा कार्यक्रम बोकेर ल्याइएको फाइल नै खाली भएपछि…

बाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न प्रदेश प्रमुखलाई उपलब्ध गराएको फाइल नै खाली भेटियो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मा तामझमका साथ प्रदेश सभा भवनमा प्रवेश भए । उनको स्वागतका लागि प्रदेश सभा भवनको प्राङ्गणदेखि नै सरसजावटले रमणीय देख्न सकिन्थ्यो ।

प्रदेश प्रमुख शर्मालाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले रातो ‘कभर’ भएको नीति तथा कार्यक्रमको फाइल पेश गरे । मुख्यमन्त्रीले पेश गरेको फाइल खोलेर पढ्न खोज्दा रित्तो पाएपछि शर्मा केहीबेर अलमलिए ।

मुख्यमन्त्रीतर्फ इसारा गर्दै उनले खाली फाइल देखाए । मुख्यमन्त्री जम्कट्टेल पुनः रोष्टममा पुगेर आफूसँग रहेको एक प्रति नीति तथा कार्यक्रमको कपी दिएपछि शर्माले वाचन सुरू गरे ।

आगमी आर्थिक वर्षको लागि बजेट छुट्याउन ल्याएको नीति तथा कार्यक्रम फोटोकपीमा पढ्दै गर्दा प्रदेश प्रमुख शर्माले असहज मान्दै पढिरहे। केहीबेरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीहरुले सक्कली फाइल प्रदेश प्रमुख समक्ष पुर्याएका थिए ।

आइतबार दिउँसो २ बजे बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख शर्माले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने सूची रहेको थियो । मुख्यमन्त्री जम्कट्टेलले मानवीय कार्यमा गल्ती हुने भन्दै अवस्था सामान्य बनाउन खोजेका थिए । ‘यो सामान्य प्राविधिक त्रुटि भयो । यो हाम्रो व्यवस्थापकीय कमजोरी हो,’ उनले भने ।

प्रतिपक्षी नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीले सरकारले बिनातयारी नीति तथा कार्यक्रम ल्याउँदा भद्रगोलको अवस्था सिर्जना भएको भन्दै आपत्ति जनाएका थिए । ‘सरकारभित्रै समस्या छ भन्ने कुरा यही घटनाबाट प्रष्ट भएको छ । प्रदेश सरकार स्थापनादेखि हालसम्म सबैभन्दा कमजोर नीति तथा कार्यक्रम अहिले नै आएको छ,’ नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईंले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार