नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान गर्न अख्तियारलाई प्रहरीको पत्र

सम्पत्ति शुद्धिकरणमा समेत अनुसन्धान हुने

नक्कली शरणार्थी प्रकरणमा जोडिएका सार्वजनिक पद धारण गरेका व्यक्तिविरुद्ध भ्रष्टाचारको कसुरमा अनुसन्धान गर्न प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको छ ।

सोमबार अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएकै दिन प्रहरीले भ्रष्टाचारको कसुरमा समेत अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको हो ।

भ्रष्टाचारको कसुरमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्छ । भ्रष्टाचारको कसुरमा मुद्दा सार्वजनिक पद धारण गरेका व्यक्तिलाई मात्रै लाग्छ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मिया, पूर्वगृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसी लगायतविरुद्ध भ्रष्टाचारको कसुरमा समेत अनुसन्धान हुने भएको हो ।

यस्तै, प्रतिवादी बनाइएका ३० जनाविरुद्ध सम्पत्ति शुद्धिकरणमा समेत अनुसन्धान हुने भएको छ । यससम्बन्धि अनुसन्धान गर्ने र मुद्दा चलाउने निकाय सम्पत्ति शुद्धिकरण विभागमा प्रहरीले पत्र पठाएको छ ।

गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिमा विभागले अनुसन्धान गर्न र मुद्दा चलाउन सक्छ । सम्पत्ति सुद्धिकरण विभागले पनि विशेष अदालतमा मुद्दा दायर गर्नेछ ।

शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्ध प्रहरीले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुद्दा चलाउन रायसहितको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

वकिल कार्यालयले वैशाख ११ गतेभित्रमा अभियोग दायर गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार