बालकृष्ण खाँणलाई भेट्न हिरासत पुगिन् मञ्जु

हिरासत पुगेको १२ दिनपछि पति बालकृष्ण खाँणलाई भेट्न मञ्जु प्रहरी कार्यालय पुगेकी छन् । सोमबार बिहान काठमाडौं परिसर पुगेर सांसद मञ्जुले खाँणलाई भेटेकी हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँण वैशाख २७ गतेदेखि प्रहरी हिरासतमा छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले मञ्जुलाई पनि मुछेका थिए । त्यसयता उनी सम्पर्कविहीन भएकी थिइन् । तर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन उनी संसदमा देखिएकी थिइन् ।

यसअघि पक्राउ पर्नासाथ बालकृष्णका दाजुभाउजु, भाइलगायत आफन्त पुगेपनि मञ्जु भने गएकी थिइनन् । यो प्रकरणमा मञ्जुको पनि नाम जोडिएको थियो ।

तर प्रहरीले प्रमाण नपुगेको भन्दै उनलाई भने अनुसन्धानको दायरामा ल्याएन ।

प्रहरीले आज अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने दिन मञ्जु पतिलाई भेट्न गएकी हुन् । प्रहरी परिसर काठमाडौंका एक जना प्रहरी अधिकृतले बालकृष्णलाई भेटेर मञ्जु फर्किएको पुष्टि गरे ।

अब १० गते सरकारी वकिल कार्यालयले अभियोग दायर गर्नेछ । त्यसपछि अदालतमा वकपत्र गराउने र प्रमाण बुझ्ने छ। त्यसपछि थुनछेक बहस हुनेछ ।

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने वा हिरासतबाहिरै राखेर मुद्दाको अन्तिम किनारा लगाउने भन्ने आदेश गर्नेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार