बुढानीलकण्ठ कार दुर्घटनामा पृथ्वी मल्ललाई ४ वर्ष कैद र ४० हजार जरिवाना

उच्च अदालत पाटनले बुढानिलकण्ठ सवारी दुर्घटना प्रकरणका अभियुक्त पृथ्वी मल्ललाई लापरबाहीपूर्वक सवारी चलाएको अभियोगमा ४ वर्ष कैद सजाय र ४० हजार जरिवाना गरेको छ । आइतबार न्यायाधीश राजेन्द्र खरेल र जगदीश घिमिरेको इजलासले मल्ललाई उक्त कसुरमा ४ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको हो ।

तीन वर्षअघि पृथ्वी मल्लले मदिरा सेवन गरेर चलाएको कारको ठक्करबाट बुढानिलकण्ठमा मर्निङवाकमा निस्किएकी लीला देवकोटाको मृत्यु भएको थियो । यो मुद्दामा सरकारी वकिल कार्यालयले उनलाई १० वर्ष कैद र एक लाख जरिवानाको माग गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले पृथ्वीलाई दोषी ठहर गरेपनि ६ महिना कैद र एक हजार रुपैयाँमात्रै जरिवाना गरेको थियो । फैसलामा कम कैद र जरिवाना भएको भन्दै सरकारी वकिल कार्यालय उच्च अदालतमा पुनरावेदन गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले सामान्य दुर्घटना मान्दै ६ महिना कैद र १ हजार जरिवाना हुने गरि भएको फैसला उल्ट्याएर उच्च अदालतले लापरवाहीपूर्वक सवारी चलाएर दुर्घटना गरेको निष्कर्ष निकालेको थियो ।

जिल्लाको फैसला फैसलाविरूद्ध सरकारी वकिलले उच्च अदालतमा पुनरावेदन दिएको थियो । सोही पुनरावेदनमा आज कसुर कायम गरिएको हो ।सुरूमा मल्ललाई जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि कारागार राख्ने आदेश दिएको थियो ।  तर सात महिना थुनामा बसेका मल्ललाई सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधान सहितको इजलासले धरौटीमा छोडेको थियो ।

सवारी चालक अनुमतिपत्रसमेत नभएका मल्लले मदिरा सेवन गरी चलाएको बा १४ च ६१२३ नम्बरको कारले ठक्कर दिँदा २०७६ मंसिर २८ मा पैदलयात्री लीला देवकोटाको मृत्यु भएको थियो । आफ्नै साइडमा हिँडिरहेकी उनलाई मल्लले हाँकेको कारले सडकको अर्को साइडमा पुगेर ठक्कर दिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार