नक्कली भुटानी शरणार्थी प्रकरण : १६ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबै १६ जना थप ३ दिन हिरासतमा रहने भएका छन् । आइतबार जिल्ला अदालत काठमाडौँले १६ जनालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

यो प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जनालाई प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो । त्यस क्रममा अदालतले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

जेठ ४ गते प्रहरीले भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पक्राउ गरेको थियो । पक्राउलगत्तै उनीहरुलाई दुई दिन हिरासतमा राख्ने अनुमति लिएर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । यससँगै सबै १६ जनाको आज म्याद सकिएसँगै प्रहरीले अदालतबाट पुनः तीन दिनको म्याद लिएको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको प्रकरणमा प्रतिनिधिसभा सदस्य तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १६ जना पक्राउ परेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार