आजको मौसम: पहाडमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

आज विशेषगरी देशका पहाडी भेगमा वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसो त अहिले बिहान पनि लुम्बिनीका प्रदेशका विभिन्न स्थान र देशका पहाडी भेगका एक दुई स्थानमा वर्षा भइरहेको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । ‘यो दिउँसो क्रमशः बढ्दै जाने सम्भावना छ’, उनले भने ।

महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

‘यसमा गण्डकी, बागमती र कोशी प्रदेशमा वर्षाको विशेष सम्भावना देखिएको छ’, मौसमविद् अधिकारीले भने, ‘आज दिउँसो काठमाडौं उपत्यकामा पनि हिजोजस्तै पानी पर्ने सम्भावना छ।’

यसैबीच आज दिउँसो कोशी प्रदेशको तराई क्षेत्र र मधेश प्रदेशमा हावाहुरी आउने सम्भावना रहेको उनले जानकारी दिए ।

‘सँगसँगै कोशी प्रदेशका सबै र मधेश प्रदेशका एक दुई स्थानमा आज दिउँसो वर्षा पनि हुने सम्भावना छ’, मौसमविद् अधिकारीले भने ।

महाशाखाको बुलेटिनअनुसार आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।

मौसमविद् अधिकारीका अनुसार हल्का वर्षा भन्नाले १० मिलिमिटरसम्मको वर्षालाई बुझिन्छ भने मध्यम वर्षा भनेको १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु हो।

मौसम महाशाखाले आगामी २४ घण्टा (आइतबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गरेको छ ।

त्यसमा भनिएको छ– देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना हुनाले त्यसबाट हुनसक्ने क्षतिरजोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार