भारतले २ हजारका नोट नचलाउने

भारतले २ हजार रुपैयाँका नोट नचलाउने निर्णय गरेको छ । शुक्रबार भारतीय रिजर्भ बैंकले अबदेखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।

सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय रिजर्भ बैंकले २ हजारका नोट चलनमा ल्याएको थियो । तर ७ वर्षमै उक्त नोट चलनचल्तीमा नरहने घोषणा गरिएको हो ।

तर यो दरको नोट अहिले नै प्रयोगमा अमान्य भने हुने छैन । यो नोटको छपाई सन् २०१९ मै बन्द भइसकेको छ । रिजर्भ बैंकले २३ मे देखि १३ सेप्टेम्बरसम्म २ हजार दरका सबै नोट फिर्ता लिने बैंकहरूलाई निर्देशन दिएको हो । त्यतिञ्जेलसम्म २ हजारको नोटलाई वैधानिक मुद्राको मान्यता पनि रहनेछ ।

तर यो नोट एक पटकमा अधिकतम २० हजार रुपैयाँमात्रै साट्न पाइनेछ ।

यो निर्णयको असर नेपालमा पनि देखिन सक्छ । खुला नाका भएका कारण भारतबाट आएका पर्यटकहरूले सिमावर्ती क्षेत्रमा यो नोट प्रयोग गर्ने गरेका थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार