कोशी प्रदेश सरकार छाड्न माओवादी र जसपालाई कांग्रेसको आग्रह

नेपाली कांग्रेसले कोशी प्रदेश सरकारबाट बाहिरिन नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई आग्रह गरेको छ। बिहीवार बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले माओवादी केन्द्र र जसपालाई सरकार छाड्न आग्रह गर्ने निर्णय गरेको हो ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले केन्द्रको सत्ता गठबन्धन विपरीत एमाले नेतृत्वको सरकारमा सहभागी भएका माओवादी केन्द्र र जसपालाई सरकार छाड्न आग्रह गर्दै पत्र पठाउने बताए ।

केन्द्र र प्रदेश सरकारको संरचना फरक नहोस भन्ने उद्देश्यसहित औपचारिक रुपमा पहिलोपटक समर्थन फिर्ता लिन आग्रह गरिएको कांग्रेस संसदीय दलका नेता थापाले जानकारी दिए ।

संसदीय दलको बैठकले कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा बोलाएर समस्याको समाधान निकाल्न आग्रह पनि गरेको छ । साथै आन्दोलनरत पक्षलाई संयमता अपनाउन पनि कांग्रेसले आग्रह गरेको छ ।

बैठकले प्रदेश सभाले सांसदका लागि वितरण गर्न लागेको ल्यापटप सदनमा रहेका २९ जना कांग्रेस सांसदले नलिने निर्णय गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार