दाङमा दुई बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, २३ जना घाइते

दाङको देउखुरीमा शुक्रबार बिहान दुईवटा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

शुक्रबार बिहान ६ः२० बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका –३ फल्कापुरमा दुई बस आपसमा ठोक्किँदा रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियारको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा उनका दुई छोरासहित २३ जना घाइते भएका छन् । घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर छ ।

लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा बिहान एक आपसमा ठोक्किएर सो दुर्घटना भएको हो ।

गम्भीर घाइतेहरूमध्ये ७ जनालाई भैरहवा, ३ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र २ जनालाई नेपालगञ्ज रिफर गरिएको छ । अन्य घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार