मल खरिदका लागि भारत सरकारसँग सम्झौता भइसकेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयमै मल उपलब्ध गराउन भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य अनिता देवीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको बताएका हुन् ।

उनले यस वर्ष समयमै मल, बिउ उपलब्ध गराउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिए । सम्बन्धित मन्त्रालयबाट काम अगाडि बढिसकेको पनि प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘‘सर्वसुलभ तरिकाले रासायनिक मल उपलब्ध गराउन, रासायनिक मलमा अनुदान दिनुकोसाथै भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको जानकारी गराउन चाहन्छु । यस वर्ष समयमै मल, बीउ उपलब्ध गराउन मैले बेलैमा कृषि मन्त्रालय लगायत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको छु । र कृषि मन्त्रालयबाट यस सम्बन्धी कार्य अगाडि बढी पनि सकेको छ । यस वर्षको नीति, कार्यक्रम र बजेटमा कृषिलाई र किसानहरुको हीतलाई अनि उत्पादन र रोजगारी सृष्टिको कुरालाई उच्च प्राथमिकता दिइने कुरा पनि म जानकारी गराउन चाहन्छु ।’’

प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा कृषिलाई र किसानहरुको हितलाई उच्च प्राथमिकता दिइने स्पष्ट पारेका छन् । त्यस्तै उत्पादन र रोजगारी सृष्टिको कुरालाई पनि उच्च प्राथमिकता दिइने उनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार