लडाकू शिविरमा भ्रष्टाचार भएको आरोप कपोलकल्पित, प्रमाणित भए जेल जान तयार छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकुलाई राखिएको क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको आरोप कपोलकल्पित र पूर्वाग्रही रहेको दाबी गरेका छन् । प्रतिनिधिसभा बैठकमा बिहीवार सांसद ज्ञानेन्द्र शाहीको प्रश्नको जवाफमा प्रचण्डले यो विषय पुष्टि भए आफू जेल जान तयार रहेको बताएका हुन् ।

क्यानोन्टमेन्टमा रहेका लडाकुलाई दिएको रकमको सबैको रेकर्ड भएको उनले दाबी गरे। भ्रष्टाचारका सबै मुद्दा छानबिन गर्न आफूहरू तयार रहेको प्रधानमन्त्री प्रचण्डले स्पष्ट पारेका छन् । ‘पूर्व माओवादीका लडाकूलाई राज्य कोषबाट दिइएको रकम हिनामिना गरेको भन्नु आरोपका निम्ति आरोप हो । शान्ति सम्झौता भएर क्यान्टोन्मेन्टमा लडाकूलाई राख्ने समझदारी भइसकेपछि अडिट गरिएको छ । हिसाबकिताब सबै रेकर्डमा छ । त्यतिबेला गिरिजा (गिरिजाप्रसाद कोइराला) प्रधानमन्त्री हुनुहुन्थ्यो । कांग्रेसबाट डा.रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो । उहाँहरू समेतले रुजु गरेपछि यसको पटाक्षेप भइसकेको छ,’ प्रचण्डले भने ।

राजनीतिक प्रतिशोध साँध्नका खोजिएको गुनासो गर्दै प्रचण्डले थपे, ‘अहिले नियतवश उठाइएको छ । इतिहासको त्यो संवेदनशील घडीमा देश, शान्ति प्रक्रिया र लोकतन्त्रलाई संस्थागत गर्ने बाटोमा अघि बढ्यो । राज्यबाट पैसा दिएर अडिट भएर टुंगो लागिसकेको विषयलाई राजनीतिक प्रतिशोध साँधेर उठाउन खोजिएको छ ।’

त्यस्तै प्रचण्डले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सरकार दृढ रहेको बताएका छन्। सदनमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी सबै कामलाई वृहत् शान्ति सम्झौताको मर्म र भावना अनुरूप समाधान गर्न सरकारले प्रयास गरिरहेको बताए।

उनले भने, ‘बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको सिफारिसका जनयुद्ध र जनआन्दोलनका घाइते र अपाङ्ग भएका व्यक्तिको पुनर्स्थापनाका लागि प्राथमिकताका साथ अगाडि बढाइन्छ। सरकारको तर्फबाट यो विषयमा वृहत् राजनीतिक सहमति निम्ति प्रयास गरेको छौँ।’

विस्तृत शान्ति सम्झौतासँग सम्बन्धी सहमत सबै राजनीति दलहरूको सहयोगलाई लिएर विधेयक संसदबाट पारित गरेर टुंग्याउने बताए। उनले जघन्य अपराधमा कुनै प्रकारको उन्मुक्ति नदिने प्रतिबद्धता जनाए। द्वन्द्वकालीन मुद्दामा सबै राजनीतिक दल एकजुट हुन आह्वान गरे।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार