रेशम चौधरीलाई जन्मकैद हुने उच्च अदालतको फैसला सर्वोच्चबाट सदर

चौधरीको रिहा हुने सम्भावना सकियो

सर्वोच्वको आजको फैसलासँगै टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्ली बजार जेलमा सजाय काटिरहेका चौधरी रिहा हुने सम्भावना सकिएको छ।

दुवै पक्षको बहस र जवाफी बहस सकिएसँगै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले यस्तो फैसला गरेको हो।

यस मुद्दामा जोडिएका अन्य प्रतिवादीको हकमा भने सर्वोच्चले तल्ला अदालतले तोकेको सजायमा सामान्य संशोधन गरेको छ।
अन्य प्रतिवादीमध्ये गंगाराम चौधरी र सीताराम चौधरीलाई सर्वोच्चले सफाई दिएको छ।

सर्वोच्चले प्रतिवादीमध्येका विद्रोहु भन्ने सीताराम चौधरी र गंगारामको हकमा यसअघि उच्च अदालत दिपायलले गरेको फैसला नमिलेको भन्दै उल्ट्याएर सफाइ दिएको हो।

त्यसैगरी अर्कातिर प्रतिवादी लक्ष्मण थारू (चौधरी) को सजायको हकमा पनि सर्वोच्वले केही संशोधन गरेको छ।

यसअघि उच्च अदालत दिपायलले तोकेको ५ वर्षको कैद सजायको फैसला मिलेको भन्दै सर्वोच्वले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७ (३)बमोजिम घटनाएर तीन वर्ष सजाय ठहर गरेको छ। यसअघि कैलाली जिल्ला अदालतले लक्षमणलाई तीन वर्ष नै सजाय तोकेको थियो।

तर ८ जनाको ज्यान जाने गरी भएको टीकापुर हत्याकाण्डका मुख्य दोषी रेशमसहितको हकमा अभियोग दाबीबाट सफाइ पाऊँ भन्ने उनीहरुको पुनरावेदन जिकिर नपुगेको ठहर सर्वोच्चले गरेको छ।

सर्वोच्चले सीताराम र गंगारामले आरोपित कसुरबाट सफाइ पाउने ठहरेकाले अन्य मुद्दा वा कारणबाट उनीहरुलाई थुनामा राख्न नपर्ने भए थुनामुक्त गरिदिन पनि कैलाली जिल्ला अदालतलाई भनेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार