नक्कली शरणार्थी प्रकरण : पूर्व गृहमन्त्री खाँणको बयान आज पनि

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान सोमबार नसकिएपछि मंगलबार (आज) पनि लिइँदै छ । गत बिहीबार पक्राउ परे पनि सोमबारबाट मात्रै विषय केन्द्रित भएर बयान सुरु भएको र सो बयान अझै बाँकी रहेकाले आज पनि बयान लिन लागिएको हो ।

सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार हिजोबाट सुरु भएको खाँणको बयान आज पनि जारी रहने छ । प्रहरीले खाणविरूद्ध प्रमाण जुटाउनुपर्ने भएकाले बयान लिइसकेको थिएन। प्रहरीले खाँणलाई पक्राउ गर्दा मोबाइल बरामद गरेको थियो।

मोबाइल बरामद गर्नुअघि खाँणले त्यसमा भएका सबै फर्म्याट गरिसकेका थिए। त्यसपछि प्रहरीले उनीविरूद्ध प्रमाण जुटाउनको लागि मोबाइल फरेन्सिक ल्याबमा पठाएको थियो। ल्याबबाट रिपोर्ट ल्याएपछि उनको बयान लिनको लागि सरकारी वकिल कार्यालयमा लगिएको थियो।

सो आरोपमा मुछिएका मुख्य आरोपित केशव दुलाल र सानु भण्डारीले सो काण्डमा गृहमन्त्रीको हैसियतमा खाँणको पनि संलग्नता रहेको र मन्त्रालयमा नै लगेर १ करोड ४६ लाख रुपैँया दिएको बयान दिए पछि खाँण सो प्रकरणमा तानिएका हुन ।

साथै, तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले पनि मन्त्रीको संलग्नतामा आफूले काम कारबाही अघि बढाएको बयान दिए पछि खाँणलाई पक्राउ गरी हिरासतमा लिइएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार