पूर्व सांसद शेर्पाले गरे प्रहरीसमक्ष आत्मसमर्पण

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित कांग्रेसका पूर्वसांसद आङ्टावा शेर्पाले आत्मसमर्पण गरेका छन् । सोमबार काठमाडौं प्रहरी परिसर टेकु पुगेर उनले आत्मसमर्पण गरेका हुन् ।

परिसरका प्रवक्ता एसपी सीताराम रिजालले आङ्टावा शेर्पा प्रहरी कार्यालयमा आएको पुष्टी गरे । नक्कली भुटानी शरणार्थी प्रकरणमा शेर्पाविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको थियो ।

हिरासतमा रहेका आरोपितलाई भेटेर यस मुद्दामा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई नपोल्न भन्दै प्रभावमा पारेको आरोप उनीमाथि लागेको छ ।

यो प्रकरणमा नेकपा एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १३ जना पक्राउ परिसकेका छन् ।

साथै, पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा भने फरार रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार