दक्षिण एसियाली युथ टेबलटेनिसमा नेपाललाई स्वर्ण

काठमाडौँ । नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा सोमबार स्वर्ण पदक जितेको छ । नेपालले यू–१९ ब्वाइज टिम इभेन्टमा स्वर्ण पदक जितेको जानकारी नेपाली टोलीका प्रशिक्षक सञ्जय अर्यालले दिए ।

भारतको अरुणाञ्चल प्रदेशस्थित इटानगरमा जारी प्रतियोगिताको उक्त स्पर्धामा नेपालले राउन्ड रोविन लिगमा सर्वाधिक अंक बटुल्दै स्वर्ण पदक जितेको हो । उक्त स्पर्धामा नेपालसहित ४ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए ।

नेपालले बंगलादेशलाई ३–० र माल्दिभ्सलाई ३–२ ले पराजित गरेको थियो । श्रीलंकासँग भने नेपाली टोली ३–१ ले पराजित भएको थियो । नेपालबाट उक्त प्रतियोगितामा सुजल गडाल, विश्व बानिया, विशाल गोले र सिद्धार्थ तामाङले प्रतिस्पर्धा गरेका थिए ।

अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले युथको कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पहिलो पटक स्वर्ण पदक जितेको जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार