नाबालिका भारतमा पुर्‍याई बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौँ । भारतमा पुर्याएर नाबालिकालाई बेचबिखन गरेको आरोपमा प्रहरीले म्याग्दी रघुगंगा गाउँपालिका–३ की अप्सरा भन्ने एलिना खत्रीलाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले खत्रीलाई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा नियन्त्रणमा लिएको हो ।

ब्यूरोका प्रवक्ता एसपी कृष्ण पंगेनीका अनुसार जाहेरवाली परिवर्तित नाम २६ बबरमहल (१५२) ले ब्यूरोमा दिएको जाहेरी अनुसार उनलाई गत वर्ष कात्तिक २४ गते काठमाडौँ जाँदा आफूलाई खाने कुरामा मिसावट गरि बेहोस बनाएर भारतको आसम राज्यको कछर जिल्ला सिल्चर भन्ने स्थानमा रेडलाईट एरिया पुर्याएर खत्रीले बिक्री गरेकी थिइन् ।

प्रहरीका अनुसार यस घटनामा नेपाली र भारतीय गरी ६ जनाको संलग्नता देखिएको छ । खत्री लगायतको गिरोह यसअघि पनि मानव बेचबिखन तथा ओसारपसार अपराधमा संलग्न रहेको ब्यूरोले जनाएको छ । झापास्थित इलाका प्रहरी कार्यालय अनारमनीले गत वर्ष मंसिर १४ गते अर्की नाबालिकाको जाहेरीअनुसार खत्रीलाई तत्कालीन समयमा पनि मानब बेचबिखन तथा ओसारपसार मुद्दामा प्रतिवादी बनाएको थियो ।

झापा जिल्ला अदालतले सोही वर्ष पुस १४ गते खत्रीलाई एक लाख ५० हजार धरौटी लिएर तारेखमा छाड्ने आदेश दिएको प्रहरीले जनाएको छ । अनारमनीले मुद्दा चलाउँदा खत्रीका श्रीमान भारतीय नागरिक अजित साह पुर्पक्षमा थुनामा पुगेका थिए। एसपी पंगेनीका अनुसार यस घटनामा थप अनुसन्धान भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार