चक्रवात मोखा : म्यानमारमा कम्तीमा पाँच जनाको मृत्यु

काठमााडौँ – चक्रवाती आँधी मोखा बङ्गलादेश र म्यानमारको तटीय इलाकासँग ठोक्किएको छ । यो आँधी खतरनाक हुनसक्छ र यसका कारण तेज हावाका साथै भारी वर्षा जारी छ । तल्लो इलाकामा बस्ने मानिसलाई घर छोड्नुपर्ने हो कि भन्ने चिन्ताले सताइरहेको छ ।

विश्वको सबैभन्दा ठुलो शरणार्थी शिविर बङ्गलादेशको कक्स बजारमा बङ्गालको खाडीमा उठेको यो आँधीका कारण १३ सयभन्दा बढी झुपडी नष्ट भइसकेका छन् ।यस्तै, म्यानमारमा यो आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

तटीय इलाकामा भूस्खलन र बाढीको स्थिति निम्तिएको छ । कक्स बजारमा तटीय इलाकामा प्रहरी पेट्रोलिङ गरिरहेको छ र लाउडस्पिकरबाट मानिसलाई घारभित्र बस्न भनिएको छ ।आँधी बढेका कारण अब सडक खाली छ । आकाशमा कालो बादल मडारिएको छ र तेज हावासँगै वर्षा भइरहेको छ ।

मोखाको सुरुवात अघि पाँच लाखभन्दा मानिसलाई सुरक्षित स्थानमा पुर्‍याइएको छ । कक्स बजारमा एक स्कुललाई शरणार्थी शिविरमा परिवर्तन गरिएको छ । यहाँ सयौँ मानिसको भीड छ ।

त्यहाँ बच्चासहित पुगेका आमा, वृद्ध वृद्धा बेन्चमा सुत्न बाध्य छन् । मोखा आँधी अपराह्न करिब १२ बजे बङ्गलादेश र म्यानमारको तटीय इलाकासँग ठोक्कियो । यसको गति १७० किलोमिटर प्रति घण्टासम्म रहने र यति बेला समुद्रमा ३।६ मिटर अग्लो लहर उठ्ने आशङ्का जताइएको थियो ।

कक्स बजारमा करिब १० लाख शरणार्थी झुपडीमा बस्छन् । चक्रवात ठोक्किनु अघि क्याम्पमा वर्षा भइरहेको थियो र चेतावनीका लागि ठाउँ ठाउँमा रातो झन्डा राखिएका छन् ।

मोखा चक्रवात दुई दशकमा बङ्गलादेशबाट ठोक्किने सबैभन्दा शक्तिशाली आँधी साबित हुनसक्छ । आँधी बङ्गलादेश र म्यानमारतर्फ अघि बढ्ने आशङ्का बीच आसपासका हवाई अड्डा बन्द गरिएको थियो । माझीलाई काम छोडेर फिर्ता हुन भनियो र करिब १५ सय राहत सेल्टरहरू बनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार