टोपबहादुर रायमाझीलाई आज अदालत लगिने

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई आज अदालत उपस्थित गराईँदै छ । आज अदालत खुलेपछि रायमाझीलाई म्याद थपका लागि लगिने भएको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले रायमाझीलाई काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट आइतबार साँझ पक्राउ गरेको हो । पक्राउपछि उनलाई काठमाडौं जिल्ला प्रहरी परिसर टेकुमा राखिएको छ। पक्राउपछि आइतबार राति नै उनको स्वास्थ्य परीक्षण गराइएको थियो ।

वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि अनुसन्धानमा सहयोग गर्छु भन्दै रायमाझी भागेका थिए। अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार थिए । सोही साँझ उनका छोरा सन्दीपलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसँगै १३ जना पक्राउ परिसकेका छन् ।

यसअघि पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मासहित १२ जना परिसकेका थिए ।

प्रहरीले फरारको सूचीमा राखेका टोपबहादुर रायमाझी आइतबार पक्राउ परे पनि इन्द्रजितका छोरा निरज र रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापा अझै फरार छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार