नक्क्ली भुटानी शरणार्थी प्रकरण : ४ दिनभित्र अनुसन्धान सक्न प्रहरीलाई सरकारी वकिलको निर्देशन

नक्क्ली भुटानी शरणार्थी प्रकरण सम्बन्धी अनुसन्धान सकेर ४ दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न सरकारी वकिलको कार्यालय, काठमाडौंले निर्देशन दिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंलाई नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असूली गरेको गिरोहसम्बन्धी अनुसन्धान सकेर प्रतिवेदन बुझाउन भन्दै आरोपीहरुविरुद्ध अन्तिम पटक चार दिन म्याद थप गर्न जिल्ला अदालत, काठमाडौंलाई अनुरोध गरिएको हो । शनिबारदेखि लागू हुने गरी अन्तिम पटक चार दिनको म्याद थप गर्न प्रस्ताव गरिएको छ ।

संगठित अपराधको मुद्दा ६० दिनभित्र अदालतमा पुर्‍याइसक्नुपर्छ, त्यही अनुसार अध्ययनको लागि पनि समय चाहिने हुँदा चार दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन निर्देशन दिइएको हो ।

भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै नेपाली नागरिकबाट रकम असुलेको आरोपमा उनीहरुलाई विभिन्न मितिमा प्रहरी पक्राउ गरेको थियो । यस प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राईलगायत छन् ।

यस प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार