लामो दूरीका सवारीसाधन बसपार्कबाट मात्र सञ्चालन हुने

काठमाडौँ भित्रिने र काठमाडौँबाट बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न पाइने भएको छ । आज काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्रन शाहको अध्यक्षतामा बसेको सरोकावालाको बैठकले सो निर्णय गरेको हो । ‘एक बसपार्क नीति कार्यान्वयन’ प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको महानगरको भनाइ छ । यसपछि नयाँ बसपार्क बाहेक अन्यत्र ठाउँबाट यात्रु चढाउन र ओराल्न पाइने छैन ।

काठमाडौँमा दैनिक करिब ७ सय संख्यामा सवारी साधन प्रवेश गर्छन् । यही संख्यामा बाहिरिन्छन् । नयाँ बसपार्कको ७५० वटा सवारी साधन व्यवस्थापनका गर्ने क्षमता रहेको छ ।

बसपार्कमा लगाउने शुल्क अध्ययन गर्न महानगरका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय समिति गठन भएको छ ।

समिति सदस्यमा महानगर प्रहरी बलका प्रमुख, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, उपत्यका ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौँ, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय, ल्होत्से बहुउद्देश्यीय प्रालि र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका प्रतिनिधि सदस्य छन् ।

बैठकले महानगरभित्रका अवैध टिकट काउन्टर हटाउने निर्णय गरेको छ । अहिले गौशाला, चावहिल, सुन्धारालगायत विभिन्न ठाउँमा लामो दूरीमा चल्ने सवारी साधनका टिकट काउन्टर छन् ।

बैठकमा जिल्ला प्रहरी परिसर काठमाडौं, सार्वजनिक यातायात केन्द्रीय महासंघ, अरनिको यातायात, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ लगायतको उपस्थिति थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार