प्रधानमन्त्रीले बोलाएको बैठकमा गएनन् मेयर बालेन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा छलफल गर्न सिंहदरबारस्थित आफ्नै कार्यालयमा एउटा महत्वपूर्ण छलफल राखे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विषयगत मन्त्रालयका मन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधिसहित सरोकारवालालाई बोलाएको थियो । तर त्यो छलफलमा उपत्यकाको फोहोर व्यवस्थापनको मुख्य सरोकारवाला काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भने अनुपस्थित बनेका छन् ।

बैठकमा सहभागी सांसदहरुले मेयर शाह किन अनुपस्थित भनेर खोजी गरेका थिए । ‘फोहोर व्यवस्थापनको बैठकमा काठमाडौंका मेयर खोई भनेर प्रश्न उठ्यो, तर जवाफ कसैले दिएन,’ बैठकमा सहभागी नुवाकोटकी सांसद विमला सुवेदीले भनिन्, ‘सम्बन्धित निकायका कर्मचारी र सरोकारवालाबाट फोहोर व्यवस्थापनबारे जानकारीपछि दिगो व्यवस्थापनका विषयमा छलफल भयो । प्रधानमन्त्रीज्यूले वर्षामा पनि फोहोर व्यवस्थापन नरोकिने गरी तयारी गरेर अघि बढ्न निर्देशन दिनुभएको छ ।’ उनका अनुसार बैठकमा डम्पिङ साइटसम्म पुग्ने सडक तत्काल कालोपत्रे गर्ने निर्णय भएको छ भने प्रधानमन्त्री प्रचण्डले त्यसबारे स्थानीय तहहरुले उठाएका मागहरु सम्बोधन गर्ने आश्वासन दिएका छन् ।

बैठकमा सिसडोल र त्यस आसपासका सरोकारवाला जनताका अगुवाहरुलाई पनि राखिएको थियो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सबैखाले फोहोर व्यवस्थापन र निर्मूल गर्न सरकार दृढतापूर्वक अगाडि बढेको बताएका थिए ।

शहरको सौन्दर्य र स्वस्थ जीवनका लागि फोहोर व्यवस्थापन महत्वपूर्ण भएको भन्दै उनले सरकार राजनीतिक क्षेत्रमा देखिएको फोहोरसमेत व्यवस्थापन र निर्मूल पार्न तल्लीन रहेको उल्लेख गरे ।

प्रचण्डले भने, ‘हामी फोहोर व्यवस्थापनको छलफलमा छौं । उपत्यकाको मात्र नभएर देशभरिको फोहोर व्यवस्थापन गर्ने कुरा हाम्रो प्राथमिकतामा छ । यो फोहोरको कुरा त छँदैछ, राजनीतिमा देखिएको फोहोर व्यवस्थापन र निर्मूल गर्नसमेत सरकार अगाडि बढेको छ ।’

प्रधानमन्त्रीले बोलाएको बैठकमा संघीय सरकारका पाँचजना मन्त्रीहरुको उपस्थिति थियो । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र शहरी विकासमन्त्री सीता गुरूङले बैठकमा भाग लिएका थिए ।

यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल, नुवाकोटका संघीय सांसदहरू हितबहादुर तामाङ, विमला सुवेदी, ललितपुर महानगरका प्रमुख चिरीबाबु श्रेष्ठ, नेपाल सरकारका सचिवहरू, उपत्यकाका नगर प्रमुखहरू र प्रमुख प्रशासकीय अधिकृतहरूलगायत सरोकार पक्षका प्रतिनिधिहरू पनि उपस्थित थिए ।

प्रधानमन्त्रीले सम्बन्धित समितिहरूको बैठक बसेर १० दिनभित्र फेरि अर्को बैठक बस्ने जानकारी दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार