‘गुणस्तरीय शिक्षाका लागि २० प्रतिशत बजेट’

काठमाडौँ : राष्ट्रियसभाका सदस्यले गुणस्तरीय शिक्षाका लागि सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन्।

शुक्रवार दिगो विकास तथा सुशासन समितिको बैठकमा सदस्यहरूले यस्तो धारणा राखेका हुन्। उनीहरूले शिक्षा क्षेत्र व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने, संघीय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने लगायतका विषयमा आफ्ना धारणा राखेका छन्।

राष्ट्रियसभा सदस्य कृष्णप्रसाद पौडेलले सम्पूर्ण बजेटको २० प्रतिशत बजेट शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिए। उनले शिक्षामा सम्पूर्ण बजेटको २० प्रतिशत लगानी नगरीकन गुणस्तरीय शिक्षा दिने कुरा बोलीमा सीमित हुने चेतावनी दिए। लगानी नगरी गुणस्तरीय शिक्षा नहुने बताउँदै न्यूनतम २० प्रतिशत बजेट शिक्षामा लगानी गर्न माग गरे।

उनले भने, ‘हामी मुलुक बनाउन प्रतिबद्ध छौँ भने थोरैमा २० प्रतिशत बजेट शिक्षामा लगानी गरौँ। लगानी नगरी गुणस्तर आउँदैन, गुणस्तर दिने भन्ने तर खर्च नगर्ने। यो सम्भव छैन। आजका युवाहरू यो मुलुकमा मेरो भविष्य छ भन्ने महसुस गर्दैनन्।’

बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य नन्दा चपाईंले सामुदायिक क्याम्पसहरूको जग्गा व्यवस्थापनको विषय जटिल रहेको भन्दै सरकारले दिने अनुदान प्राप्तिका लागि चाहिने जग्गाको विषयलाई सहजीकरण गर्नुपर्ने बताइन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार