नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया रोक्ने सरकारको निर्णय

सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको वैठकले नयाँ स्टक एक्सेचन्जको लाइसेन्स वितरण प्रक्रिया रोक्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

नयाँ स्टक एक्सचेन्जको विषयमा संसदमा प्रश्न उठेको भन्दै तत्कालका लागि लाइसेन्स रोक्ने निर्णय भएको हो । मन्त्रिपरिषद्को निर्देशनसम्बन्धी पत्र शुक्रबार (आज) धितोपत्र बोर्डलाई पठाइने मन्त्रालयले बताएको छ ।

धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले केही महिना अगाडि नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि आवेदन माग गरेको थियो । आवेदन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतका दुई इजलासमा बेग्लाबेग्लै मुद्दा परेपछि यो प्रक्रिया झण्डै ६ महिना अवरुद्ध भएको थियो । लाइसेन्स वितरण प्रक्रिया रोक्न नमिल्ने भन्दै सर्वोच्चका दुवै इजलासले क्लिन चिट दिएपछि दुई साता पहिले सेवोनले आवेदन प्रक्रियालाई सुचारु गरेको थियो । जसमा निजी क्षेत्रबाट तीनवटा कम्पनीको आवेदन परेको थियो ।

धितोपत्र बोर्डले कम्पनीका प्रस्तावहरुको मूल्याङ्कन प्रक्रियालाई तीव्रता दिइरहेको बेला सरकारले नियामक निकायको अधिकारक्षेत्रमा हस्तक्षेप गर्दै लाइसेन्स वितरण प्रक्रिया रोक्ने निर्णय गरेको हो ।

संसदमा सांसदहरुले नयाँ स्टक एक्सचेन्जको विषयमा प्रश्न उठाउँदै लाइसेन्स बाँड्ने धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई कारबाहीको माग गर्दै आएका छन् ।

धितोपत्र बोर्डमा नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार