वर्षाले दैलेखमा ६ घर भत्किए

तीन दिनदेखिको निरन्तर वर्षात्ले दैलेखको दुल्लु नगरपालिका –९ का ६ घर भत्किएका छन् । वडाध्यक्ष रणबहादुर बोहोराका अनुसार प्यादुरा गाउँका तीन र धामीगाउँका तीन घर भत्किएका हुन् ।

उनले विस्थापित परिवारलाई नजिकका आफन्तको घरमा राखिएको जानकारी दिए । लगातारको वर्षातका कारण जिल्लाभर अहिलेसम्म मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलयका प्रमुख अनुपम श्रेष्ठले भने “कर्णाली राजमार्गको ठाउँ–ठाउँमा पहिरो गइरहेको छ । अन्य सहायक सडकमा पनि यातायातका साधन सञ्चालन हुन कठीन छ ।” दैलेख सुर्खेत सडक खण्ड, निर्माणाधीन मध्यपहाडी राजमार्ग लगायतका स्थानीय तहको केन्द्र जोड्ने मुख्य सडक र सहायक सडकमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका सर्वसाधरणलाई सतर्क रहन आग्रह गरेको छ । जल तथा मौषम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्षको मनसुन लामो अवधिसम्म रहने देखिन्छ ।

जिल्लास्थित कर्णाली नदी, लोहोरे, छामघाट, रामाघाट, कट्टी, पादुका खोला लगायतका नदी र खोलामा पानीको बहाब बढ्न गइ तटीय क्षेत्रमा बाढी आउन सक्ने र भिरालो ठाउँमा पहिरो जानसक्ने जोखिम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले तटिय क्षेत्र र भिरालो ठाउँमा बस्ने स्थानीयबासीलाई सम्भाबित विपद्को जोखिम न्यूनिकरणका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार