ललितपुरबाट नक्कली नोटसहित दुई जना पक्राउ

काठमाडौं। ललितपुरबाट नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका-१३ झरूवासीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।  पक्राउ पर्नेमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-११ घर भई झरूवासी बस्ने ३६ वर्षीय जीवन भन्ने सुरेश तामाङ र कास्की मादी गाउँपालिका-१ का २१ वर्षीय भुपाल विक छन् ।

गत आइतबार जीवनले किराना पसलमा गएका थिए । ५ किलो मैदा र दुई लिटर खाने तेल किनेर उनले एक हजार रुपैयाँको नोट पसले दिनेश तिमल्सिनालाई थमाए। तर तिमल्सिनाले उक्त नोट जाली हो भन्ने थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि खटिएको डिएसपीसहितको टोलीले उनलाई पक्राउ गरेको थियो । जीवनबाट प्रहरीले एक हजारको, पाँच सय, एक सयको एक-एक वटा जाली नोट बरामद गरेको थियो ।  उनीमाथि प्रहरीले मुद्रासम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतबाट ५ दिन म्याद थपेको थियो । उनीमाथि बयान लिएर प्रहरीले अर्का व्यक्तिको पनि संलग्नता रहेको खुलेको हो ।

त्यसपछि प्रहरीले बिहीबार गोदावरी-११ बज्रबाराहीबाट भुपाललाई पक्राउ गरेको हो । उनीबाट पनि ५ सयको एउटा, एक सयको एउटा नोट फेला पारेको हो ।  उनको डेरामा प्रहरी पुग्दा प्रहरीले प्रिन्टर पनि बरामद गरेको थियो। डेराबाट पनि थप एक हजार, ५ सय र एक सयको फोटो कपि गरिएका कागजहरू पनि फेला पारेको हो ।

उनीमाथि पनि प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी साहले बताए । उनीहरूले कहिलेदेखि यो काम गरिरहेका थिए भन्ने खुलिसकेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार