नेपालमा उपचार सम्भव हुँदाहुँदै राष्ट्रपति पौडेलको भारतमा उपचार, भाडामात्रै ६५ लाख खर्च

'पौडेलसँग गएका परिवारका सदस्य र चिकित्सकको टोलीलाई भ्रमण भत्ता'

काठमाडौँ –राष्ट्रपति रामचन्द्र पौडेलको उपचारका लागि राज्यको करोडौं रकम खर्च हुने भएको छ । उपचारका लागि भारतमा रहेका पौडेलको उपचार र उनीसँग भारत गएका व्यक्तिहरुको भ्रमण भत्ता गरी राज्यलाई करीब तीन करोड भन्दा बढी भार थपिने भएको हो ।

हाल नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति पौडेलको उपचार जारी छ । नेपालमा उपचार सम्भव हुँदा हुँदै राष्ट्रपति पौडेललाई भारत लैजाँदा भाडामात्रै ६५ लाख खर्च भएको छ । श्री एयरको एयर एम्बुलेन्समार्फत नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार गर्न लैजाँदा हवाइ भाडा बापत राज्य कोषबाट ६५ लाख ५० हजार पाँच सय रुपैयाँ खर्च भएको हो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति पौडेलका लागि प्रयोग गरिएको श्री एयरको एयर एम्बुलेन्सको २२ हजार पाँच सय डलर र मेडिकल टिम उडेको अर्को जहाजका लागि थप दुई हजार पाँच सय गरी २५ हजार डलर खर्च भएको छ। भने फर्किदा २५ हजार डलर लाग्ने छ । जुन रकम नेपाली रुपैयाँ ६५ लाख हुन आउँछ ।

यसका साथै राष्ट्रपति पौडेल, उनीसँग गएका परिवारका सदस्य र चिकित्सक टोलीले भ्रमण खर्च नियमावली २०७२ अनुसार दैनिक भ्रमण भत्ता समेत पाउनेछन् । पौडेलको उपचारका लागि तीनजना परिवारका सदस्य र चिकित्सक टोलीमा तीन जना रहेका छन् । नियमावलीअनुसार राष्ट्रपति पौडेलले प्रतिदिन २५० डलर भ्रमणभत्ता पाउनेछन्। त्यस्तै, परिवारका सदस्यहरू श्रीमती सविता पौडेल, छोरा चिन्तन पौडेल र नाति नाता पर्ने हरिश पौडेलले विशिष्ट श्रेणीसरह दैनिक २२५ डलर भ्रमण भत्ता पाउँछन्।

यस्तै उनीसँग भारत गएका उनका चित्सकको भत्ता पनि सकारले नै व्यहोर्ने छ । भने औषधी उपचारमा एक करोड भन्दा धेरै खर्च हुने अनुमान गरिएको छ ।  यसले आर्थिक समस्यासँग जुदिरहेका नेपाली जनतालाई थप समस्यामा पारेको छ ।

डाइबेटिज, ग्यास्ट्रोसम्बन्धी समस्या देखिएका पौडेलको उपचार नेपालमै सम्भव रहेको र त्यसका लागि भारत गइरहनु नपर्ने त्रिविका वरिष्ठ चिकित्सकहरुहरूको सुझाव विपरीत राज्यलाई करोडौं रुपैयाँ भार थपिने गरी पौडेललाई दिल्लीस्थित (एम्स) लगिएको हो। उपचारमा संलग्न एक चिकित्सक भन्छन्, ‘राष्ट्रपति ज्यूको उपचार नेपालमा नै सम्भव थियो । नेपालमा नै उपचार गर्न हामीले सुझाव दिएका थियौं। ’

यसरी नेपालकै विभिन्न अस्पतालमा उपचार हुने भए पनि विशिष्ट व्यक्तिहरु उपचारकै लागि भनेर विदेश हानिने क्रम घट्नुको साटो बढ्दो छ । खर्च पाउने भएपछि नेता र उच्च पदस्थ व्यक्तिले घरबाट एक रुपैयाँ पनि निकाल्दैनन् । तर, उपचार भने विदेशमै गर्छन, त्यो पनि स्वदेशकै सरकारी अस्पतालमा उपलब्ध हुने सेवाका लागि । जसको चर्काे आलोचना हुँदै आए पनि उच्चपदस्थ व्यक्तिहरूले व्यवहार सुधारेका छैनन् । नेपालकै पुरानो सरकारी अस्पताल वीर अस्पतालले अति विशिष्ट व्यक्ति (भीभीआईपी) तथा भीआईपीको उपचारका लागि करौडौं रुपैयाँ खर्च गरेर विशेष उपचार कक्ष बनाएको छ । तर, हालसम्म कुनै भीभीआईपीले त्यहाँ उपचार गराएका छैनन् । यो कक्ष अहिले प्रयोगविहीन छ ।

गरिब जनतालाई कुनै गम्भीर प्रकारको रोग लाग्दा उपचार खर्च जुटाउन घरबार बेच्नुपर्छ । त्यतिले नपुगे बाटोमा मागेर बस्नुपर्छ । तर, भीआईपीका लागि निशुल्क छुट्टै उपचार कक्ष भए पनि उनहरुले सेवा लिएको पाइँदैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार