अयोग्य लडाकुलाई दुई लाख राहत दिने कार्यविधि पास

अर्थ मन्त्रालयले छुट्यायो एक अर्ब ४० लाख

काठमाडौँ – अयोग्य लडाकुहरुले राहत स्वरुप दुई लाख रुपैयाँ पाउने भएका छन । अयोग्य लडाकुलाई रकम दिने कार्यविधि पास भएसँगै उनीहरुले दुईलाख रुपैयाँ पाउने भएका हुन् ।

गत ६ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि पास गरेको हो । कार्यविधिअनुसार पहिलो चरणमा अयोग्य लडाकु पहिचान गरिनेछ । लडाकु पहिचान गर्ने जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिइनेछ । र, जिल्ला प्रशासनले पहिचान भएका लडाकुको विवरण गृह मन्त्रालयमा पठाउनेछ । सोही विवरणअनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आयोग्य लडाकुलाई दुई–दुई लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउनेछ ।

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले अयोग्य लडाकुलाई दुई–दुई लाख रुपैयाँ राहत रकम दिने कार्यविधि पास भएको जानकारी दिए । ‘अयोग्य लडाकुलाई राहतस्वरूप दुई–दुई लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने कार्यविधि पास भएको छ । सोही कार्यविधिअनुसार लडाकु पहिचान गरिनेछ । र, उनीहरूको बैंक खातामार्फत राहत रकम उपलब्ध गराइनेछ,’ उनले भने ।

सरकारले आव ०७९/८० को बजेटमा शान्ति प्रक्रियाका बाँकी कामका लागि भनेर एक अर्ब ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सोही रकम आयोग्य लडाकुको राहतमा खर्च गरिनेछ । राहत रकम लिन अर्थले गत २ चैतमै स्वीकृति जनाइसकेको छ । अयोग्य लडाकुलाई राहतस्वरूप दुई–दुई लाख रुपैयाँ दिने सम्बन्धमा आव ०७३/७४ को बजेटमै उल्लेख गरिएको थियो । तर, सर्वोच्च अदालतमा मुद्दा परेपछि सरकारको योजना कार्यान्वयनमा आउन सकेको थिएन ।

-पत्रपत्रिकाबाट

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार