पैसा नभएर रोकियो शिक्षकको पेन्सन

काठमाडौँ – राजस्व असुली कम भएर राज्यको ढुकुटीमा प्रेसर पर्न थालेपछि शिक्षकहरूको पेन्सन रोकिएको छ । निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार बजेट अपुग भएकाले पेन्सन भुक्तानी भएको छैन । अहिले पेन्सनधारी शिक्षकहरूको संख्या ५१ हजार तीन सय आठ छ, त्यसमध्ये करिब ३० हजार शिक्षकले चैतको पेन्सन पाएका छैनन् ।

राजस्व असुली कम भएकाले अर्थ मन्त्रालयले पेन्सनबापतको रकम निकासामा ढिलाइ गरेको हो । अर्थले बजेट निकासा दिएपछि कार्यालयले बैंकमार्फत पेन्सनधारीलाई खातामा रकम हालिदिन्छ । अर्थबाटै निकासा नभएपछि पेन्सनको भुक्तानी प्रभावित भएको निवृत्तिभरण व्यवस्थापन कार्यालयका प्रमुख विष्णुप्रसाद खरेलले बताए ।

नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकमार्फत पेन्सनधारीको खातामा रकम जम्मा गर्ने कार्यालय बताउँछ । काठमाडौं उपत्यकाका तीन जिल्ला र बाहिरी जिल्लाका केही बैंक शाखाले रकम नपाएका कारण खातामा पैसा पठाउन नसकेका हुन् । कार्यालय प्रमुख खरेलले मंगलबार मात्र अर्थ मन्त्रालयले तीन अर्ब रुपैयाँ बजेट निकासा दिएकाले समस्या अब समाधान हुने जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार