मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ३ कालिदमारस्थित भित्री सडक–खण्डमा ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

कालिदमारस्थित भित्री सडक–खण्डमा मिलडाँडाबाट हाँडिखोलातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ त ७१८८ नं. को ट्याक्टर सोमबार राति ८ः५० बजेको समयमा आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ट्याक्टरमा पाँच जना सवार रहेकोमा दुर्घटनामा परी च्यापिएको अवस्था घाइतेहरुलाई एम्बुलेन्समार्फत उपचारका हेटौँडा पठाइएको घटनास्थलमा पुगेका प्रहरी नायब निरीक्षक शिव शङ्कर शर्माले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार मृत्यु हुनेमा मनहरी गाउँपालिका ३ हाँडिखोलाका ३० वर्षीय वीरमान रुम्बा, सोही वडाका २४ वर्षीय राजकुमार प्रजा र वडा नं. ४ स्थित सालघारीका २० वर्षीय प्रविण प्रजा रहेका छन् ।

यस्तै, दुर्घटनामा परी घाइते भएका मनहरी गाउँपालिका ३ हाँडिखोलाका वर्ष २४ का अमृत प्रजा र ठेगाना नखुलेका वर्ष ४५ को जोखलाल प्रजाको हेटौँडा उपमहानगरपालिका ११ स्थित चुलेहिल अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार