१० वर्षीया छोरीलाई जबरजस्ती करणी गरि हत्या गर्ने पक्राउ

कैलालीमा आफ्नै छोरीको जबरजस्ती करणी गरि हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका २ बघनियाकी १० वर्षीया बालिकालाई जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा ५१ वर्षीय बाबुलाई पक्राउ गरेको हो । उनलाई गत आइतबार अर्थात (जेठ ३० गते) पक्राउ गरेको भएपनि प्रहरीले बुधबार मात्र सार्वजनिक गरेको हो ।

उनले गएको जेठ २७ गते दिउँसो आफ्नै नाबालिका छोरीलाई भैसी गोठमा लगी जबरजस्ती करणी गरी पोल खुल्ने डरले भैसी गोठमै झुण्ड्याइ हत्या गरेको र घटना लुकाउन आत्महत्या गरेको जस्तो देखाउन खोजेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घरपरिवारले बालिकालाई सोही दिन दाह संस्कार गर्ने तयारी गरिरहेको थाहा पाएपछि ईलाका प्रहरी कार्यालय लम्कीको प्रहरी टोलीले शव बरामद गरि सेती प्रादेशिक अस्पतालमा शव पोष्टमार्टम तथा यौनजन्य परीक्षण गराउनुका साथै थप अनुसन्धान शुरु गरेको थियो ।

बलात्कार आरोपी पुरुषलाई ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार