म्याग्दीमा बाढीले लघु जलविद्युत्सहित तीन घर बगायो

म्याग्दीको मालिका गाउँपालिका–२ रुममा बुधबार पहिरोले लघुजलविद्युत् परियोजनाको विद्युत् गृहसहित तीन वटा घर बगाएको छ । रुमका विभिन्न ठाउँमा करीब ३५ घर परिवार पहिराका कारण विस्थापित भएका छन् ।

खहरेखोलामा रहेको २२ किलोेवाट क्षमताको लघुजलविद्युत् परियोजनाको विद्युत् गृह पात्लेखहरे खोलाको बाढीले बगाएको वडा सदस्य समबहादुर विकले जानकारी दिए । विद्युत् गृहका साथै नहर र मुहानमा पनि बाढीले क्षति पु-याएको छ । परियोजना बन्द हुँदा रुमका २५५ घरधुरी विद्युत् सुविधाबाट वञ्चित भएका छन् । गाउँपालिकाको केन्द्र दरबाङ र अन्य बस्ती जोड्ने सडक अवरुद्ध भएको छ ।

विद्युत् अभावमा सञ्चार सुविधा पनि प्रभावित भएको छ । रुममा केन्द्रीय प्रशारण लाइनको विद्युत् विस्तारका लागि दुई वर्षअघि नै १०० केभीको ट्रान्सफर्मर जडान, पोल गाड्ने र तार तानिएपनि स्थानीयवासी उज्यालोका लागि लघुजलविद्युत् परियोजनामा नै निर्भर छन् ।

पहिरोपछि आएको बाढीले पात्लेखहरे लघुजलविद्युत् परियोजनाका प्राविधिक बस्ने दुईतले घर बगाएको छ । बेलीमा खेमबहादुर विकको दुईतले घर र एक वटा गोरुसहित गोठ बगाएको छ । रनबहादुर दर्जीको घर पहिराले पुरिएको छ । वडा कार्यालय पछाडिको पहिराले लुप्सीमा सात, बेलीमा तीन र हुन्नेपाखाकासहित वडाभर ३५ घरपरिवार विस्थापित भएको वडा सदस्य विकले बताए । बेली र जेमका १०० घरधुरीले प्रयोग गर्ने अर्को लघुजलविद्युत् परियोजनाको विद्युत् गृह र नहरमा पनि बाढी पहिराले क्षति पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार