प्ले अफ नखेली नेपाल एसिया कप छनोटको तेस्रो चरणमा

नेपालले अब सिधै एसिया कप अन्तिम चरणको छनोट खेल खेल्न पाउने भएको छ । बुधबार एसियाली फुटबल महासंघ (एएफसी)ले एक सूचना जारी गर्दै तेस्रो चरण खेल्न पाउने देशहरुको नाम सार्वजनिक गर्दा नेपाल पनि त्यो लिस्टमा पर्न सफल भएको हो ।

एएफसीले छनोट प्रक्रियामा परिमार्जन गरेसँगै नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाएको छ । एएफसीको नयाँ प्रक्रियाअनुसार नेपालले प्लेअफ खेल्न नपर्ने भएको हो । एएफसीका अनुसार एसियन कप आयोजना गर्ने चीन, विश्वकपको आयोजक तथा एसियन कपको साविक विजेता कतारले विश्वकप छनोट तथा एसियन कपमा स्थान बनाएपछि समूहको चौथो स्थानमा रहने टोलीले पनि सिधै तेस्रो चरणमा स्थान बनाउने भएको हो ।

यस नियमसँगै दोस्रो स्थान हासिल गर्नेमध्ये पुछारका तीन टोली तथा तेस्रो र चौथो स्थान हासिल गर्ने ८-८ टोलीले एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाए ।

यसरी छनोट भएका टोलीमा नेपालसँगै थाइल्यान्ड, सिंगापुर, मंगोलिया, अफगानिस्तान, हङकङ, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

त्यस्तै संयुक्त छनोटमा पाँचौ स्थानमा रहेका तीन टीमले पनि तेस्रो चरणमा स्थान बनाएका छन् । यसरी स्थान बनाउनेमा म्यानमार, यमन र बंगलादेश छन् ।

अब इन्डोनेसिया, कम्बोडिया, चाइनिज ताइपेइ र गुआमले मात्र प्लेअफ खेल्नेछन् । प्लेअफका विजयी दुई टोलीले एसियन कप छनोटको तेस्रो चरणमा स्थान पक्का गर्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार