गण्डकीका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार विश्वासको मत लिने भएका छन् ।

शनिबार मुख्यमन्त्री नियुक्त भएका नेपालीले विश्वासको मत लिने प्रस्ताव मंगलबार दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए । विश्वासको मत लिनुभन्दा दुई दिनअघि प्रदेशसभा सचिवालयलाई जानकारी दिनुपर्ने प्रावधान छ ।

शनिबार संविधानको धारा १६८ (५) अनुसार गत शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर, सरकारको नीति तथा कार्यक्रम, बजेटलगायतका काम र मन्त्रालय विभाजनमा समेत अन्योल भएपछि विश्वासको मत लिन लागेको मन्त्री तथा सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् थप विस्तार गर्न भएको छ । यसका साथै विनियोजन विधेयक र बजेटमाथि छलफलपछि विश्वासको मत पनि लिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

गण्डकीमा ११ वटा मन्त्रालय छन् । ५९ प्रदेशसभा सदस्य छन् । विश्वासको मत प्राप्त गर्न ३० मत आवश्यक पर्छ । ६० सदस्यीय प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि प्रदेशसभा सदस्यको संख्या ५९ भएको हो । सरकारमा अहिले कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चा छन् । चार दलको गठबन्धनले एमालेका पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारलाई अल्पमतमा पारी नयाँ सरकार गठन गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार